संविधान निर्माणको कार्यतालिका आज १० औं पटक फेरि संशोधन
दलहरुको विवादले निर्धारित कार्यतालिकाभित्र काम हुन नसकेकाले संविधान निर्माणको कार्यतालिका आज १० औं पटक फेरि संशोधन हुने भएको छ । एकीकृत मस्यौदा तयार गर्ने समय एक महिना बढाएर जेठ १४ मै संविधान जारी गर्ने गरि संविधानको कार्यतालिका संसोधनको तयारी भइरहेको हो ।
त्यसकालगाी संवैधानिक समितिको बैठक अहिले सिंहदरबारमा जारी छ ।
यसअघि एकीकृत मस्यौदा तयार गर्ने समय फागुन २१ गतेसम्म रहेपनि संविधानसभाका ११ वटा विषगत समिति मध्ये २ वटाले मात्रै प्रतिवेदन बुझाएपछि मस्यौदा तयार हुन सकेको छैन । समितिले एकीकृत मस्यौदा तयार गर्ने समय बढाउने तर अरु काम बाँकी समयभित्रै सक्ने गरि संशोधनको तयारी गरेको समितिका सदस्य एवं माओवादी प्रवक्ता दीनानाथ शर्माले बताउनु भयो ।
कार्यतालिकाअनुसार काम नभएकाले यसअघि नवौ पटक कार्यतालिका संशोधन भइसकेको छ । आज कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यतालिका बनाएपछि संविधानसभाको बैठकले संशोधन गर्नेछ ।
यसैबीच संविधान निर्माणको कार्यतालिका संशोधन गर्नुअघि संवैधानिक समितिले अहिले संविधानसभाका दलहरुसँग छलफल जारी राखेको छ । समितिले सबैदलका नेताहरुलाई अनिवार्य बैठकमा आउन भनेको थियो । दलहरुसँगको छलफलपछि संविधानको कार्यतालिका र जेठ १४ गते संविधान जारी हुन सक्ने नसक्ने बारेमा तय गरीने संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले बताउनु भयो । दलहरुसँग सभाध्यक्ष सुवासचन्द्र नेम्वाङको राज्यपुनर्संरचना पछि टुङ्ग्याउनेगरि संविधान जारी गर्नुपर्ने प्रस्तावका विषयमा पनि छलफल हुने भएको हो ।
